logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागमतीमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान हुँदै, भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक


अंकुरण खबर
806
Shares

रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि आज बागमती प्रदेशमा मतदान हुँदैछ ।

बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान जारी रहने कार्यतालिका रहेको छ । मतदानमा गृहमन्त्रीसमेत रहेका एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’ र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापकीय काम सकेर तयारी अवस्थामा रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानाएका छन् ।

मतदाताको निर्वाचकमण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुरुप हुने निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन आयोगले कुनै कसर बाकी नराख्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा कायम गरिएको केन्द्रमा मतदान हुनेछ ।

उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता कायम रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ ।

केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइएको छ । उपनिर्वाचनमा यस अघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिने छ ।

वर्तमान संविधान कार्यान्वयमा आएपछि राष्ट्रियसभा सदस्यको पहिलो पटक उपनिर्वाचन हुन लागेको हो । आयोेगका अनुसार उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने छ । मतगणना साँझ ५ बजेदेखि शुरु गरिने छ । आजै बेलुकासम्ममा नतिजा आइसक्ने जनाइएको छ ।