प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पछिल्लो कदमविरुद्ध विपक्षी सर्वोच्च अदालत जान लागेकोप्रति टिप्पणी गर्दै यसलाई न्याय प्रभावित पार्न मोर्चा कसेको रूपमा अर्थ्याएका छन् ।
ओलीले यस्तो मोर्चाबन्दीले न्याय प्रभावित पार्न खोज्नुको कुनै अर्थ समेत नभएको बताए । ‘अब मोर्चा कसेर मुद्दा हाल्ने रे,’ आइतबार पत्रकारहरूसँग बालुवाटारमा आयोजित अन्तरक्रियामा उनले भने, ‘एकजनाले मुद्दा हाले पनि त्यही हो, धेरैले मुद्दा हाले पनि सच्चाइ, सच्चाइ नै हो । न्यायलाई प्रभावित पार्न मोर्चा कस्नुको कुनै अर्थ हुँदैन ।’
संविधानको धारा ७६ (५) बमोजिम आफूहरूको दावीलाई अस्वीकार गरेको भन्दै विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायत अदालतमा जाने तयारी गरिरहेका छन् ।
ओलीले आफूलाई पहिले विश्वासको मत पाइन्छ भन्ने नलागे पनि तत्कालै घटनाक्रममा परिवर्तन आएपछि प्रधानमन्त्रीको दावी गरेको बताए । ‘मैले अगाडि विश्वास गरेको थिइनँ कि विश्वासको मत पाउँछु भन्ने । तर, कहिलेकाहीँ राजीनामा चाँडै परिवर्तन हुन्छ । परिस्थितिमा तत्कालै परिवर्तन हुन्छ । त्यसैले मैले हाम्रो १२१ र जसपाको ३२ गरेर १५३ को दावी गरेको हुँ ।’
ओलीले संविधानको धारा ७६ (५) मा संसदका कुनै पनि सदस्यले प्रधानमन्त्रीमा दावी गर्न मिल्ने भए पनि त्यहाँ दलीय अनुशासन लागू नहुने भन्ने कुरा गलत भएको बताए ।