संसद विघटन र संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनसम्बन्धी परेको रिट निवेदनमाथिको शुक्रबारको सुनुवाइ सकिएको छ ।
रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएपछि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आइतवारसम्मका लागि स्थगित भएको हो ।
महान्यायाधिवक्ता रमेश बडालले सभामुखले बोलाएको छलफलमा जाने कानुन व्यवसायीलाई प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस गर्न रोक लगाउनुपर्ने माग राखेपछि विवाद थप चर्किएको थियो । बडालले भने, ‘सभामुखलाई राय दिनेले यहाँ आएर विपक्षमा बहस गर्न मिल्दैन । यो गर्न कानुन व्यवसायीको आचारसंहिताले दिँदैन ।’
बिहीबार सभामुख सापकोटाले कानुन व्यवसायीसँग गरेको छलफलमा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता भीमार्जुन आचार्यलगायत सहभागी थिए ।
त्यस्तै, नेकपा एकता बदर गरेर एमाले र माओवादी केन्द्र कायम गराउन भूमिका खेल्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर गोविन्द बन्दीलगायत कानुन व्यवसायीले आपत्ति जनाएपछि प्रधानन्यायाधीशले व्यक्ति व्यक्तिमा नजान अनुरोध गरेका थिए ।
यो विषयले इजलासमा विवाद भएको थियो । विवादकै बीच शम्भु श्रेष्ठ, रमण श्रेष्ठ, टीकाराम भट्टराईलगायत वरिष्ठ अधिवक्ता, कानुन व्यवसायी बन्दीको भनाइको पक्षमा उभिएपछि प्रधानन्यायाधीशले आजको सुनुवाइ हेर्दाहेर्दैमा रहेको भन्दै आइतबारसम्मका लागि स्थगित गरेका हुन् ।