logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गणतन्त्र घोषणा भएको १३ वर्ष पूरा, जनतामा समस्या जस्ताको तस्तै, राष्ट्रपति र सभामुखद्धारा शुभकामना व्यक्त


अंकुरण खबर
1.56K
Shares

आज गणतन्त्र दिवस । नेपालमा पहिलो पटक संविधानसभाबाट २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको १३ वर्ष पूरा भई १४ वर्ष लागेको छ ।

पहिलेका वर्षहरुमा गणतन्त्र दिवशको अवसरमा विभिन्न कार्यक्रम गरि मनाए पनि गत वर्ष र यस वर्ष भने कोभिड-१९ का कारण औपचारिक कार्यक्रम गरि मनाउँन रोक लगाइएको छ ।आज भन्दा १४ वर्ष अगाडी आजकै दिन २३८ वर्षको शाहवंशको राजपरम्पराको अन्त्य गरि नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकको रुपमा घोषणा गरिएको थियो ।

देशमा गणतन्त्र आए पनि आम जनताले अपेक्षाकृत शान्ति,अमनचयन,समानता र विकासको प्रत्यानुभूत गर्न भने पाएका छैनन् ।

गणतन्त्र दिवसकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले थप उत्प्रेरणा प्रदान गरोस भनी शुभकामना व्यक्त गरेकी छिन् ।

उनले संविधानले सुनिश्चित गरेको जनताको अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्दै कोभिड-१९ को संक्रमणलाई नियन्त्रण गर्न विभिन्न जिल्लामा सरकारले जारी गरेको निषेधाज्ञालाई पालना गर्दै गणतन्त्र दिवस मनाउन आह्वान गरिन् ।

उनले व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु गणतन्त्रको प्रमुख विशेषता भएको कुरा उल्लेख गरेकी छिन् । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न सबैमा उत्साह प्रदान गर्ने अपेक्षा राखेको पनि बताईन् ।

त्यस्तै सभामुख अग्निप्रसाद सापकोटाले दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन गराए मात्र गणतन्त्रको औचित्य सार्थक हुने बताएका छन् ।

शुभकामना सन्देशमा सभामुखले भनेका छन्, “हामी एकातिर गणतन्त्र र संविधानमाथि आइपरेको संकट र अर्कातिर कोभिड–१९ महामारीबाट आक्रान्त छौँ । यस विषम परिस्थितिमा अझ जिम्मेवारीबोधका साथ अगाडि बढ्नुपर्ने आवश्यकता पैदा भएको छ ।”

सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आए पनि ०७६ सालदेखि गणतन्त्र दिवसको बिदा कटौती गरेको छ ।