logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशसभामा आजदेखि बजेट अधिवेशन


अंकुरण खबर
1.391K
Shares

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो बस्दैछ । आज बस्ने प्रदेशसभा बैठकबाट गण्डकीको बजेट अधिवेशन पनि सुरु हुँदैछ ।

प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज दिउँसो १ बजेका लागि प्रदेशसभाको अधिवेशन बोलाएकी छन् । बजेट अधिवेशनको पहिलो दिन दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको छ

आजदेखि सुरु हुने बजेट अधिवेशनमा आज दलका नेताहरुले सम्बोधन गरेपछि भोलि प्रदेश सरकारले बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको छ ।

कानुनी प्रावधान अनुसार बजेट आउनुभन्दा १५ दिनअघि बजेटको सिद्धान्त र प्राथमिकता सदनमा पेस गर्नुपर्ने व्यवस्था रहेको छ । तर, बजेटका सिद्धान्त र प्राथमिकता संसदले पारित भने गर्नु पर्दैन ।

सदनमा आएको सुझावअनुसार प्रदेश सरकारले बजेट तयार गर्नेछ । असार १ गते प्रदेश सरकारले संसदमा बजेट पेस गर्नुपर्ने कानुनी बाध्यता छ ।

प्रदेशसभाको बजेट अधिवेशनले गण्डकी प्रदेश सरकारको छिनोफानो समेत गर्नेछ । यसअघि बहुमतको सरकारमा दाबी नपुगेको भन्दै प्रदेश प्रमुख पौडेलले ठूलो दलका नेताका हैसियतमा एमाले नेता पृथ्वीसुब्बा गुरुङलाई वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

संविधानको धारा १६८ उपधारा ३ अनुसार बनेको अल्पमतको सरकारले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । प्रदेश सरकारले जेठ २९ अघि नै विश्वासको मत लिनुपर्छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुरुमै सरकारले विश्वासको मत लिनुपर्ने सुझाव दिएको छ । गण्डकीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीको गठबन्धन छ ।

गण्डकीमा नेकपा एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीको २ र स्वतन्त्र १ जना गरी ६० जना सांसद छन् ।