त्रिभुवन विश्वविद्यालयले रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिएको छ ।
त्रिवि रजिस्ट्रारको कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।
‘रोकिएका परीक्षाहरू पनि यथा समयमा सञ्चालन गर्ने विषयमा तयारी भइरहेको जानकारी गराउँछु,’ विज्ञप्तिमा उल्लेख छ ।
यस्तै विश्वविद्यालयमा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन भइरहेको र परीक्षाको विषयमा पनि गृहकार्य भइरहेको जनाएको छ । विश्वविद्यालयले कोरोना भाइरसको दोस्रो लहरका कारण प्रभावित भएको शैक्षिक प्रणालीलाई परिवर्तन गर्दै वैकल्पिक (अनलाइन) विधिबाट कक्षा सञ्चालन भइरहेको जानकारी दिएको हो ।
विश्वविद्यालयका ७९ शिक्षण इकाइहरूले पूर्ण रूपमा र ३० वटा निकायहरूले आंशिक रूपमा अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेको त्रिविको भनाइ छ ।
आंशिक रूपमा अनलाइन कक्षा सञ्चालन भएकामध्ये पनि ९० प्रतिशतभन्दा बढी निकायमा ५० प्रतिशतभन्दा बढी कक्षा सञ्चालन भएको र ४ वटा निकायमा अनलाइन कक्षा संचालनको तयारी भइरहेको जनाएको छ ।