चीन सरकारले दिएको ९ लाख डोज खोप आज नेपाल आईपुग्दैछ ।
८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आज दिउँसो २ बजे जहाज काठमाडौं अवतरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
चीन सरकारले अनुदानमा दिन लागेको भेरोसेल खोप लिन गएराति ११ बजेर ३० मिनेटमा नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज चीनको बेइजिङ उडेको थियो । जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिङपिङले उक्त खोप नेपाललाई अनुदान दिएको जनाइएको छ ।
विमानले आज ८ लाख खोप लिएर नेपाल आइपुग्नेछ । यस्तै चीनको स्वायत्त क्षेत्र तिब्बतले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको १ लाख डोज खोप हिमालयन एयरलाइन्सको चार्टर्ड उडानमार्फत आजै ल्याइँनेछ । बाँकी १ लाख डोज पनि हिमालयन एयरलाइन्सको चार्टर्ड उडानमार्फत भोलि ल्याइँनेछ । यो खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइने तयारी भएको छ ।
‘भेरोसेल’ खोप ५५ देखि ६५ वर्ष उमेर समूहलाई दिइने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ ।
यसअघि सरकारले भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई दिइएको थियो ।