logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको तेस्रो र चौथो लहरमा बालबालिकालाई बढी जोखिम, पूर्व तयारी गर्न निर्देशन


अंकुरण खबर
1.157K
Shares

सरकारले कोरोनाको तेस्रो र चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै पूर्व तयारी गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको पहिलो र दोस्रो लहरमा प्रौढ र युवा बढी संक्रमित भएकोमा तेस्रो र चौथो लहरमा बालबालिका बढी संक्रमित हुनसक्ने भन्दै तयारी गर्न निर्देशन दिएको हो ।

अहिलेसम्मको तयारीमा प्रौढ र युवा लक्षित मात्र भएको भन्दै मन्त्रालयले कोरोना संक्रमित बालबालिकाको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदनकुमार उपाध्यायले शुक्रबार विज्ञप्ति जारी गरी आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न आग्रह गरेका छन् ।

मन्त्रालयले वैकल्पिक प्राणवायुको रुपमा रहेको अक्सिजनको व्यवस्थापन गर्नसमेत अस्पताललाई निर्देशन दिएको छ ।

कोभिड–१९ को पहिलो लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाएको मन्त्रालयको निष्कर्ष छ । तर सबैको मिहिनेतले अवस्था नियन्त्रणभित्रै रहेको मन्त्रालयको दाबी छ ।