काठमाडौ – यौन र्दुव्यवहारको आरोपमा अनुसन्धानका लागि थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज अदालत लगिँदैछ ।
अनुसन्धानका लागि म्याद थप गर्न महरालाई जिल्ला अदालत काठमाडौं लगिने भएको हो । संसद सचिवालयमा कार्यरत एक महिलाले यौन र्दुव्यवहारको आरोप लगाएपछि महरालाई प्रहरीले पक्राउ गरेको थियो ।
सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिएका महरालाई उच्च रक्तचाप भएपछि केही दिनअघि थापाथलिस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । महरा अहिले पनि अस्पतालमै छन् । प्रहरीले आरोपका सम्बन्धमा अनुसन्धान सुरु गरेको छ । महरा र आरोप लगाउने महिलाको फरेन्सिक परीक्षण पनि भइसकेको छ । दुवैको प्रतिवेदन आएपछि अनुसन्धान थप अघि बढ्ने जनाइएको छ ।
महराले आफूमाथि असोज १२ गते यौन र्दुव्यवहारको गरेको भन्दै आरोप लगाउने महिलाले असोज १८ गते किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि महरालाई प्रहरीले असोज १९ गते बेलुका सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो । आरोप अस्वीकार गरेका महराले असोज १५ गते सभामुखबाट राजीनामा दिएका थिए ।