प्रदेश १ को आठौं तथा बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदैछ ।
बैठक दिउँसो २ बजेका लागि बोलाइएको हो । सोमबारको बैठकमा संसदीय दलका नेताहरूले मन्तव्य दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा प्रदेश आर्थिक कार्यविधि ऐन (दोश्रो संशोधन) शंसोधन अध्यादेश पेश हुने कार्यसूची छ ।
प्रदेश सरकारले पूर्वबजेट छलफललाई औपचारिकतामा सिमित गर्न अध्यादेशमार्फत ऐन शंशोधन गरेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । संसदीय दलका नेता राजिव कोइरालाले बजेट अधिवेशनआह्वानमा ढिलाई गरि पूर्व बजेटलाई औपचारिकतामा सिमित गरेको बताए ।
जनता समाजवादी पार्टीका दलका नेता जयराम यादवले कोरोना महामारीलाई देखाएर पूर्व बजेट छलफललाई औपचारिकतामा सिमित गर्न खोजेको बताएका छन् ।
यसैबीच बजेट अधिवेशन शुरु हुनुपूर्व आइतबार प्रदेश सांसद, प्रदेशसभाका कर्मचारी, सुरक्षाकर्मी, मर्यादा पालक, संसदीय पत्रकार, सांसदहरूका स्वकीय सचिवालयका कर्मचारीहरूको कोरोना परीक्षण गरिएको प्रशासन महाशाखा प्रमुख चन्द्रमणि पोखरेलले जानकारी दिए ।