logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेश : एमाले संसदीय दलको बैठकमा प्रकाश ज्वाला सहभागी, तीन मन्त्री गएनन्


अंकुरण खबर
1.014K
Shares

कर्णाली प्रदेशमा नेकपा एमालेले आफैं सरकार निर्माण प्रयास थालेको छ।

माओवादी नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याएपछि नयाँ सरकार बनाउने गरी एमालेले छलफल थालेको हो।

नयाँ सरकार निर्माण, नीति तथा कार्यक्रम र बजेटलाई लिएर अहिले सुर्खेतमा एमाले संसदीय दलको बैठक जारी छ। दलका नेता यामलाल कँडेलको आह्वानमा डाकिएको बैठकमा यसअघि फ्लोर क्रस गरेर निष्कासित नेता प्रकाश ज्वाला सहभागी भएका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए ।

बैठक आह्वान गरिएपछि दलका नेता कँडेलले ज्वालासहित सर्वोच्च अदालतबाट सांसद पद फिर्ता भएका चारै जनालाई सहभागी हुन आग्रह गरेका थिए। तर आज एमाले दलको बैठकमा माधव नेपाल समूहका प्रकाश ज्वाला मात्रै सहभागी भएका छन्।

एमालेको ह्वीप उलंघन गर्दै फ्लोर क्रस गरेका चारजना सांसदमध्ये तीन जनालाई शाहीले मन्त्री बनाएका थिए। शाही सरकारमा मन्त्री रहेका एमाले सांसदहरु अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा दलको बैठकमा सहभागी छैनन्।

हिजो मात्रै कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले ती तीनैजना मन्त्रीका लागि संसदमा पनि प्रतिपक्षीकै लहरमा कुर्सी व्यवस्थापन गरिदिएका थिए। सांसद पद फर्किएपछि एमालेले उनीहरुलाई पदबाट राजीनामा दिएर आउन भनेको छ।

तर उनीहरुले नवौँ महाधिवेशनबाट निर्वाचित कमिटीको मात्रै कुरा मान्ने अडान लिएका छन्। तीनै मन्त्रीले प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम पारित नगरी बैठकमा नजाने निर्णय गरेका छन् ।