logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभापति देउवाले गरे प्रदेश १ का केन्द्रीय सदस्यसँग छलफल


अंकुरण खबर
819
Shares

नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले प्रदेश १ का आफूनिकट केन्द्रीय सदस्यसँग पार्टीको आसन्न १४औं महाधिवेशनबारे छलफल गरेका छन्।

कांग्रेस केन्द्रीय समितिको हिजो (शुक्रबार) बसेको बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको थियो। त्यसैको भोलिपल्ट देउवाले आज (शनिबार) बिहान प्रदेश १ का केन्द्रीय सदस्यहरुलाई आफ्नै निवास बुढानीलकण्ठमा डाकेर छलफल गरेका हुन्।

छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा. डिला संग्रौला, सुजाता परियारलगायतले सहभागिता जनाएका थिए।

सातै प्रदेशका केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रमलाई उनले प्रदेश १ बाट सुरु गरेको जनाइएको छ।

त्यसक्रममा उनले आफू फेरि पनि सभापतिमा लड्ने संकेत गरेको बैठकमा सहभागी एकनेताले बताए। उनले ‘संशोधित कार्यतालिकाअनुसार महाधिवेशन हुने स्पष्ट पार्दै उनले आफ्नो नेतृत्वमा संविधान कार्यान्वयन भएको, आफूले नै तीन तहको निर्वाचन गराएको बताएका थिए।

प्रतिनिधिसभाको पछिल्लो निर्वाचनमा लोकप्रिय मत हुँदाहुँदै पनि सिट कम जितेको उल्लेख गर्दै सभापति देउवाले अब आफ्नै नेतृत्वमा कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउने र सरकारको नेतृत्व गरेर मुलुकलाई अगाडि बढाउउने आकांक्षा व्यक्त गरेको ती केन्द्रीय सदस्यले बताए। विविध कारणले पहिलो कार्यकालमा धेरै काम गर्न नपाएकाले फेरि सभापति बनेर ती काम पूरा गर्ने चाहना रहेको उनले बताएका थिए।

देउवाले महाधिवेशनमा आफ्नो पक्षमा नतिजा आउनेगरी काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको जनायएको छ।