logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा मंगलवारदेखि ‘स्मार्ट लकडाउन’, कुन बार के खुल्ने ?


अंकुरण खबर
2.834K
Shares

काठमाडौं उपत्यकामा असार ८ गते मंगलवारदेखि निषेधाज्ञा खुकुलो हुने भएको छ ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

बैठकले एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय पनि गरेको छ । तर अबको निषेधाज्ञा खुकुलो हुने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

असार ८ देखि १४ सम्म लगाइएको निषेधाज्ञामा निजी सवारीलाई जोर–बिजोरअनुसार चल्न दिइनेछ । यस्तै ट्याक्सीहरूलाई पनि जोर–बिजोर लागू गरेर चलाउन दिइनेछ।

बैठकले बार अनुसार पसल पनि सञ्चालन गर्न दिने निर्णय गरेको छ । जसअनुसार आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न पाइनेछन् । सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसललाई सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म खोल्न दिइनेछ।

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू भने बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ। रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्। निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने छ।

शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्ने निर्णय पनि वैठकले गरेको छ । यस्तै सरकारी कार्यालयहरु पनि आलो पालो गरी खुला हुनेछन् ।