logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले अबदेखि निःशुल्क पाठ्यपुस्तक पाउने


अंकुरण खबर
3.276K
Shares

सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन्।

सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन गर्ने विद्यार्थीले छवटै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने जानकारी दिए ।

कक्षा ११ र १२ मा विद्यार्थीले तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक गरी छ वटा विषय अध्ययन गर्छन्। केन्द्रका निर्देशक अर्यालले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन स्थानीय तहमा बजेट पठाइसकिएको जानकारी दिए।

अब स्थानीय तहले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरेपछि विद्यालयले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउनेछन्। सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेको थियो।

सरकारी पाठ्यपुस्तक प्रकाशन गर्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले अङ्ग्रेजी, नेपाली, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा÷गणित गरी तीनवटा अनिवार्य विषयको पाठ्यपुस्तक प्रकाशन गर्ने गरेको छ।

ऐच्छिक विषयको पाठ्यपुस्तक भने पाठ्यक्रम विकास केन्द्रको अनुमति लिएर निजी प्रकाशनहरूले निकाल्ने गरेका छन्।

यस पटक अनिवार्य विषयतर्फ कक्षा ११ को पाठ्यपुस्तक छपाइका क्रममा रहेको र कक्षा १२ को पाठ्यपुस्तक छपाइ कार्य सुरु हुन नसकेको केन्द्रले जनाएको छ। २०७८ सालको शैक्षिक सत्रमा कक्षा १२ मा नयाँ पाठ्यक्रम लागू हुँदै छ। गत वर्ष कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको थियो।

यस पटक राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन १५ सम्म प्रकाशन गर्ने कार्यतालिका बनाएको छ।

हाल विद्यालयहरूले विद्यार्थीको आन्तरिक मूल्याङ्कन कार्य सुरु गरेका छन्। असार २० भित्र आन्तरिक मूल्याङ्कन सक्न बोर्डले विद्यालयहरूलाई समयसीमा दिएको छ।

एसईई नतिजापछि मात्रै कक्षा ११ मा भर्ना हुने बाटो खुल्नेछ। कक्षा ११ मा हाल अध्ययनरत विद्यार्थीको आन्तरिक मूल्याङ्नको कार्य भने यही असार महिनाभित्र सक्न बोर्डले सबै विद्यालयलाई निर्देश गरेको छ। साउनबाट हाल कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई कक्षा १२ मा अध्ययन गर्ने बाटो खुल्ने जनाइएको छ। रासस