जल तथा मौसम विज्ञान विभागले आज (मंगलबार) प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा वर्षा हुने जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यी तीन प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । जसले गर्दा बाढी र पहिरोको जोखिम हुनसक्ने जनाएको छ ।
मनसुनी वायुको प्रभाव र दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। जसले गर्दा गण्डकी र बाग्मती प्रदेशका केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो पनि देशभरको मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको हुनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।
यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका अधिकांश स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको आकलन छ ।