मकवानपुरको मनहरी गाउँपालिकामा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम सडक खण्डमा पिकअप गाडी दुर्घटना हुँदा गाडी चालकको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परी एकजना घाइते भएका छन् । प्रहरीका अनुसार पिकअपमा सवार बाराको महागढी नगरपालिका–४ का ३२ वर्षीय केदारनाथ थारु गम्भीर घाइते भएका छन् । थारुलाई उपचारका लागि भरतपुर पठाइएको छ ।
वीरगञ्जबाट मनहरीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२४ च १४३० नम्बरको कुखुरा बोकेको गाडी सडकबाट करिब ८० मिटर तल राप्ती खोलामा खसेको हो । गाडी दुर्घटना भएको अवस्थामा प्रहरीले बुधबार बिहान फेला पारेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।