logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजदेखि आन्तरिक हवाई उडान शुरु, दैनिक ६४ वटा उडान हुने


अंकुरण खबर
1.404K
Shares

कोरोना महामारी नियन्त्रण र रोकथामका लागि जारी निषेधाज्ञासँगै बन्द भएको आन्तरिक हवाई उडान पुनः आज (बिहिबार) देखि शुरु भएको छ।

गत वैशाख २० गतेदेखि बन्द गरिएको आन्तरिक उडान आजदेखि नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरी सञ्चालन गर्ने निर्णय गरेको छ।

बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आन्तरिक हवाई उडान सुरु भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

उडान भर्ने मध्ये बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन र नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई गरी दैनिक ६४ वटा उडान हुने क्षेत्रीले जानकारी दिए।

कुल उडान क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न प्राधिकरणलाई सरकारले निर्देशन दिएको थियो।

यसैगरी पाँच वटा हवाई कम्पनीले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएपनि सरकारले थप चार वटा हवाई कम्पनीलाई अनुमति दिएको छ।

अब नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, कतार एअरलाइन्स, टर्किस एअरलाइन्स, जजिरा एअरलाइन्स, फ्लाइ दुवई एअरलाइन्स, सलाम एअरलाइन्स, एअरअरविया र एअरइण्डियाले नेपालका लागि अन्तर्राष्ट्रिय उडान गर्दे गर्ने भएका छन्।

दोहा, जापान, दुबई, ओमान, कुवेत लगायतका गन्तव्यमा उडान शुरु भएको हो। यसरी उडान सञ्चालन गर्दा जनस्वास्थ्यको मापदण्ड पूर्ण पालन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।