logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाढी र पहिरोबाट विस्थापितलाई सरकारले प्रतिपरिवार ५० हजार दिने


अंकुरण खबर
1.04K
Shares

सरकारले मनसुजन्य विपद् (बाढीपहिरो) का कारण घरबार गुमाएकाहरुको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजारका दरले उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएको छ ।

राष्ट्रियसभाको आइतबारको बैठकमा समसामयिक विषयमा जानकारी दिदै गृहमन्त्री विष्णु पौडेलले तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरुबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका हुन् ।

यस वर्षको मनसुन शुरु यता मुलुकका विभिन्न स्थानमा मनसुनजन्य विपद्का कारण पुगेको क्षतिका बारे राष्ट्रियसभालाई जानकारी गराउदै सरकारले तत्काल उद्वार, राहत र पुनर्स्थापनाका लागि सरोकारवालाहरुसँग समन्वयन गरी आवश्यक निर्देशन गरेको पनि बताए ।
यसवर्षको मनसुन विपद्का कारण क्षति भएका सम्पूर्ण निजी आवासहरुको समेत विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम पुनर्निर्माण गर्ने व्यवस्था मिलाईएको उनले जानकारी दिए ।

उनले भने, “यसवर्षको मनसुनजन्य विपदबाट २०७८ असार १६ गतेसम्म विभिन्न जिल्लामा आंशिक तथा पूर्ण क्षति भएका ५ सय ७२ घर परिवारका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरुबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाईएको छ ।”

सबै प्रदेशमा बाढी तथा पहिरोको लगत संकलन गर्ने कार्य जारी रहेको तथा घरबास गुमाएका परिवारलाई उपलब्ध गराउने सहयोगलाई पनि सरकारले निरन्तरता दिने मन्त्री पौडेलले बताए ।

उनले गत वर्षको मनुसनबाट क्षति भएका विभिन्न जिल्लाका ३ हजार ९ सय ४९ परिवारहरुलाई पहिलो किस्ता वापत प्रति परिवार ५० हजार रुपैयाँका दरले १९ करोड ९७ लाख अनुदान प्रदान गरी पुनर्निर्माणको काम शुरु गरिएको पनि जानकारी दिए ।