बैतडीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा परी अन्य ११ जना घाइते छन् ।
दुर्घटनाग्रस्त जिपका चालक १९ वर्षीय खगेन्द्र साउद र जिप साहु ४४ वर्षीय हरिभान साउद भने फरार रहेका प्रहरीले जनाएको छ । १६ जना सवार जिप सडकबाट करिब ५० मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेहरूमा सिगास गाउँपालिका– ३ का ४५ वर्षीय जयसिंह धामी,४५ वर्षीय मानसिंह साउद र ६४ वर्षीय रामसिंह धामी छन् । उनीहरु तीनैजनाको घटनास्थमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
सिगास गाउँपालिका– ३ का १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण बोहरा र ४७ वर्षीय कृष्ण धामी, ४० वर्षीया गोमती साउद र २० वर्षीय राजेन्द्र धामी गम्भीर घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।
दुर्घटनामा परी सिगास गाउँपालिका– ३ कै २९ वर्षीय करनसिंह धामी, ४५ वर्षीय दलवीर साउद, ४० वर्षीय चक्रधामी, ३८ वर्षीया वास्मतीधामी, ४० वर्षीय शेरबहादुर धामी,र २० वर्षीय रवीन्द्र धामी सामान्य घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
सिगास गाउँपालिका– ३ बाट डडेल्धुरातर्फ गईरहेको से १ ज७३९ नम्बरको जिपसिगासकै लगन भन्ने स्थानमा आइतबार बिहान ९ बजेर ४० मिनेटमा दुर्घटनामा परेको हो ।