logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

औपचारिक फुटको बाटोमा जसपा, दुई पक्षबीच निर्वाचन आयोगमा भएन सहमति


अंकुरण खबर
1.456K
Shares

निर्वाचन आयोगमा छलफलका लागि बोलाएका जसपा नेपालका दुवै पक्षबीच सहमति हुन सकेन। आयोगले दुवै पक्षलाई आज छलफलका लागि बोलाएको थियो।

तर, छलफलमा दुवै पक्षले आ–आफ्नो दाबी पेस गरेपछि सहमति हुन नसकेको हो। जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले आयोगलाई अब प्रक्रियाअनुसार अघि बढ्न भनेका भनेका छन्।

‘हामीले आफ्नो बहुमत रहेको र त्यसलाई मान्यता दिनुपर्ने दाबी राख्यौं, अर्को पक्षको पनि त्यस्तै दाबी रह्यो,’ छलफलमा सहभागी महन्थ निकट नेता उमाशंकर अरगरियाले भने, ‘अब आयोगले नियमानुसार नै अघि बढेर निर्णय गर्छ होला।’

निर्वाचन आयोगको छलफलमा सहमति हुन नसकेको जसपाको दुवै पक्ष अब औपचारिक रुपमा नै विभाजन हुन सक्ने देखिएको छ। निर्वाचन आयोगले जसलाई आधिकारिकता दिन्छ, त्यो पक्ष नै जसपाको आधिकारिक पक्ष हुनेछ।

आयोगलाई नियमानुसार गर्न भन्दै दुवै पक्षले हस्ताक्षर गरेर आयोगबाट फर्किएका छन्। यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएको थियो। यादव पक्षको निवेदनपछि आयोगले ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो। ठाकुर पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई मेलमिलापका लागि बोलाएको हो।

आज ठाकुरसँगै उनी पक्षका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, शरतसिंह भण्डारी, केशव झालगायत नेता आयोग पुगेका थिए। यादव पक्षका उनीसँगै महेन्द्रराय यादव, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारीलगायत नेताहरु छलफलमा सहभागी थिए।