निर्वाचन आयोगले माओवादी केन्द्र खारेजीको माग राखिएको निवेदनबारे अध्ययन भइरहेको र अध्ययनपछि उपयुक्त निार्णय गर्ने बताएको छ।
माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका नेताहरु आफूहरुले माआवादी केन्द्र खारेजीको माग गर्दै बुधबार दर्ता गराएको निवेदनबारे जानकारी लिन र छलफल गर्न आज (शुक्रबार) आयोग पुगेका थिए। आयोगले माओवादी केन्द्र खारेज गर्न दिएको निवेदन दर्ता पनि गरिसकेको छ।
आज निर्वाचन आयोगमा नेताहरू टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह र गौरी शंकर चौधरी पुगेका थिए। रामबहादुर थापा ‘बादल’ र लेखराज भट्ट भने अस्वस्थताको कारण देखाउँदै आयोज आउन नसकेको जानकारी दिएको जनाइएको छ।
निवेदनमा उठाइएको माग ठिक छ वा छैन, अध्ययन गरेर त्यसबारे आवश्यक निचोड निकाल्ने जानकारी आयोगले उनीहरूलाई दिएका थिए।
गत बुधबार माओवादी केन्द्रका पूर्वनेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, गौरीशङ्कर चौधरीलगायत निर्वाचन आयोग पुगेर २०६९ सालदेखि महाधिवेशन नगरेको माओवादी केन्द्र अवैध रहेको जिकिर गर्दै खारेजीको माग राखेका थिए।
उनीहरूले माओवादी केन्द्र कानुनी रूपमा अवैध रहेकाले साने पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूमाथि गरेका सबै कारबाही पनि अवैध रहेको उजुरीमा उल्लेख गरेका थिए।