आज पनि देशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मनसुनी वायुको प्रभावले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै‚ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, बाग्मती र सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भने अति भीषण वर्षाको पनि सम्भावना रहेको आकलन गरिएको छ।
आज राति पनि देशभर मौसम बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।
महाशाखाले आगामी सातासम्म नै मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र सबै प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना प्रक्षेपण गरेको छ।