logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिरोका कारण गलेश्वरपारिको बस्ती उच्च जोखिममा


अंकुरण खबर
897
Shares

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ स्थित गलेश्वरपारिको बस्ती पहिरोको उच्च जोखिममा परेको छ।

पहिरो आएर पुरिने डरले यहाँका ३० घरपरिवार रातभर जाग्राम बस्न बाध्य भएका छन्। बस्तीमाथिको भिरालो पाखो लस्किएर बस्ती नजिक आइपुगेको छ।

गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा लापर्बाही गर्दा बस्ती नै पहिरोको जोखिममा परेको स्थानीयवासी बताउँछन्। गत वर्षदेखि सडक निर्माण थालिएको थियो। कमजोर र भिरालो जमीनमा जथाभावीरूपमा सडक बनाउँदा पहिरो चलेको स्थानीयवासी बताउँछन्।

जेठको पहिलो सातादेखि नै यहाँका बासिन्दा राति सुत्न पाएका छैनन्। विकासका नाममा निम्तिएको विनाशका कारण आफ्नो थातथलो छोड्नुपर्ने अवस्था आएपछि यहाँका स्थानीयवासी चिन्तित बनेका छन्।

सडक बनाउँदा पर्याप्त सावधानी नअपनाएका कारण बस्तीमाथि पहिरो खस्न थालेको स्थानीयवासी टककुमारी छन्त्यालले बताए। कमजोर भूभागमा सडक बनाउन डोजरले जथाभावी भत्काउनु र त्यसपछि संरक्षण र रोकथामको काम नगरेका कारण पूरै पाखो खस्न थालेको छन्त्यालको भनाइ छ।

वर्षौंदेखि बसेको घर छाडेर हिँड्नुपर्ने अवस्था आउन लागेको छन्त्यालले बताए। ‘बस्तीमाथिको पाखोबाट खसेको पहिरोले घर पुर्न लागेको छ। दुई महिनायता राति निदाउन पाएका छैनौँ,’ छन्त्यालले भने, ‘३५ वर्षदेखि बसेको थातथलो छोडेर कहाँ जाने ? हामीहरुलाई चिन्ता लागेको छ।’

गत वर्षदेखि बस्तीमाथिको जमीन चर्किएर पहिरो खस्न थालेको थियो। हिउँदमा कुनै निकायले पनि संरक्षणको पहल नगर्दाको परिणाम यस पटकको बर्खामा देखिन थालेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। यहाँका कतिपय बासिन्दा घर छोडेर हिँड्ने तर्खरमा रहेका र कतिले वल्लो गलेश्वर बजारमा भाडामा कोठा लिएर बसेका स्थानीयवासी तिलबहादुर पुनले बताए।

बस्ती जोगाउन संरक्षणको काम गर्नका लागि गत वर्षदेखि नै सम्बन्धित निकायको ध्यानाकर्षण गराइए पनि कुनै काम नभएको स्थानीयवासी बताउँछन्। सम्बन्धित निकायबाट पहिरो नियन्त्रण, भलबाढी व्यवस्थापन र बस्ती संरक्षणमा केही काम हुन नसकेका कारण बस्ती जोखिममा परेको गलेश्वरवासीको भनाइ छ।

सडक निर्माण गर्दा लापर्बाही भएका कारण बस्ती जोखिममा परेको र सडक पनि दिगो नभएको स्थानीय बुद्धिजीवी दीपक कार्की विखर्चीले बताए। जथाभावी खनिएका सडकका कारण गलेश्वरपारिको बस्ती मात्रै होइन म्याग्दीका १९ वटा बस्तीका सयौँ घर र परिवार जोखिममा छन्। रासस