logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मत दिने सांसदलाई सर्वोच्चको फैसलाविपरीत स्पष्टीकरण सोध्ने


अंकुरण खबर
1.404K
Shares

एमालेले विश्वासको मत दिने आफ्ना सांसदहरुलाई अदालतको फैसलाविपरीत स्पष्टीकरण सोध्ने भएको छ।

आज (सोमबार) ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै एमालेले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले फ्लोर क्रस गर्नु पार्टी अनुशासन र जनमतविपरीत भएकाले २२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको जानकारी दिए।

‘उहाँहरुले कस्तो जबाफ दिनुहुन्छ, त्यसैका आधारमा पार्टीले निर्णय लिनेछ,’ उनले भने।

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री देउवालाई नेता नेपालसहित विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ विश्वासको मत दिएका थिए।

दउवालाई विश्वासको मत दिने एमालेका अन्य सांसदह गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन हुन्।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला गर्ने क्रममा गत असार २८ गते ७६ (५) अनुसारको सरकार गठनमा दलको ह्विप नलाग्ने र फ्लोर क्रस गर्नेलाई कारबाही चलाउन नपाइने आदेश दिएको थियो। आइतबार एमाले स्थायी कमिटी बैठकले आफ्ना सांसदहरुलाई प्रधानमन्त्री देउवाको विपक्षमा मत दिन ह्विप जारी गरेको थियो।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएके आधारमा पार्टीले २२ सांसदलाई कारबाही गरे अध्यक्ष केपी ओलीले अदालतको अवहेना गरेको आरोपमा एक वर्षसम्म कैद हुन सक्ने देखिन्छ।