सुदूरपश्चिमका १३ जना एमाले सांसदले उपाध्यक्ष भीम रावललाई प्रतिनिधिसभा सांसदबाट दिएको राजीनामा फिर्ता लिन अपील गरेका छन् ।
आज बिहान सुदूरपश्चिमका १३ सांसदले रावल निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । तर, रावलले त्यसको कुनै जवाफ नदिएको एक सांसदले बताए ।
रावलले राजीनामापछि पार्टी एकताका लागि शीर्ष नेतृत्वलाई दवाव दिन राजीनामा दिएको बताएका थिए । तर, उनको राजीनामापछि एमालेका अधिकांश नेताहरुले फिर्ता लिन आग्रह गरिरहेका छन् ।
सुदूरपश्चिमका प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलगायत एमाले सुदूरपश्चिमकी सचेतक, पूर्वसचेतसहित १३ जनाले राजीनामा फिर्ता लिन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बेला पार्टीभित्रको आन्तरिक कलह नमिलेको भन्दै उनले दवाव दिन संघीय सांसद पदबाट राजीनामा दिएका थिए ।
उनको राजीनामा हालसम्म स्वीकृत भएको छैन । यसअघि केन्द्रीय कमिटी बैठकमा पनि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।