सामाजिक सुरक्षा कोषविरुद्ध वित्तीय क्षेत्रका कर्मचारीहरु गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
कोषको ऐनमा भएका व्यवस्थाहरु बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीलाई अमान्य भएको भन्दै कर्मचारीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
आइतबार भएको सुनुवाईमा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी गरेको हो । तर अन्तरिम आदेशमा भने न्यायाधीश बमकुमार श्रेष्ठले भने अलग मत राखेका छन् ।
सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा अहिले खाइपाइ आएको सेवा सुविधा समेत कटौती हुने र सरकारी र निजी क्षेत्रमा काम गर्ने कर्मचारीलाई कोषमा भएको व्यवस्थाले फरक व्यवहार गरेको भन्दै कर्मचारीहरुले रिट दायर गरेका थिए ।
‘यस सम्बन्धमा भए गरिएका यावत् काम कारबाही तथा निर्णयहरु हाललाई कार्यान्वयन नगरी अगाडि नबढाइ यथास्थितिमा राख्नु,’ आदेशमा भनिएको छ ।