logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

इजरायल रोजगारीको लागि आवेदन खुल्यो, तलब मासिक २ लाख


अंकुरण खबर
1.885K
Shares

वैदेशिक रोजगार विभागले इजरायल जाने कामदारहरुका लागि अनलाइन आवेदन आह्वान गरेको छ ।

विभागले इजरायलको हेरचाह केन्द्रमा सहायक कामदारका लागि अनलाइन आवेदन आज (मंगलवार) खुल्ला गरेको हो ।

रोजगारीमा जान चाहनेले विभागको वेबसाइटमा गएर अनलाइन फारम भर्न सक्नेछन् । सरकारी संयन्त्र जीटुजी मार्फत इजरायलमा कामदार पठाउने सम्झौता भएअनुसार विभागले औपचारिक रुपमा आवेदन खुल्ला गरेको हो । विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका लागि एक हजार नेपाली श्रमिक लैजाने भएको छ ।

विभागले जारी गरेको सूचना अनुसार इजरायलमा रोजगारको लागि मासिक नेपाली रुपैयाँ करिव १ लाख ९३ हजार हुन्छ । इजरायल जाने कामदारको खाना प्रबन्ध आफैले मिलाउनुपर्ने भएपनि बस्ने प्रबन्ध भने रोजगारदाताले नै गर्नेछन् । एक पटक रोजगारमा जाने करार अवधि एक वर्षको हुने भएपनि करार थपिएर ५ वर्षसम्म बस्न पाइने छ ।
विभागको सूचना अनुसार इजरायलमा ३० प्रतिशत पुरुष कामदार र ७० प्रतिशत महिला कामदारल रोजगारको अवसर पाउनेछन् ।

इजरायल रोजगारीमा जान के योग्यता चाहिन्छ ?

आवेदकको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । आवेदकको उचाई कम्तिमा १.५ मिटर र तौल ४५ केजी हुनुपर्ने छ ।

आवेदकको शैक्षिक योग्यता कम्तिमा दश कक्ष उत्तीर्ण गरी अनमी वा सि. एम. ए. सम्वन्धि विषयमा कम्तिमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धि कम्तिमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ ।

आवेदकको पासपोर्ट म्याद समाप्त हुन कम्तिमा ३ वर्ष बाँकी रहनुपर्नेछ । साथै आवेदक विगतमा इजरायल गई कार्य नगरेको हुनुपर्ने छ ।

आवेदकको बुवा, पत्नी, छोराछोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ । आवेदक लागुपदार्थ वा मादक पर्दाथ दुव्र्यसनमा नलागेको र शारीरिक र मानसिक रुपमा स्वस्थ रहेको हुनुपर्नेछ ।