logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो ३ सातामा कोरोनाबाट विदेशमा थप ३९ नेपालीको निधन


अंकुरण खबर
3.562K
Shares

कोरोना संक्रमणबाट पछिल्लो तीन सातामा विदेशमा थप ३९ जना नेपालीको निधन भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार मलेसियामा ३७ जना इराक, र युगान्डामा १–१ जना नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो।

संघले संकलन गरेको तथ्यांकअनुसार हालसम्म भारतसहित विश्वभर २९ मुलुकमा रहेका ४८६ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ। इराकमा पहिलोपटक कोरोनाका कारण नेपालीको ज्यान गएको हो।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख २७ हजार ९३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। ती मध्ये १ लाख १७ हजार ५२९ जना नेपाली कोरोनामुक्त भएका छन्।

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१ दशमलव ८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन्।

सापकोटाका अनुसार विगत दुई सातामा मलेसिया र भारतमा रहेका नेपालीमा भने थप कोरोना संक्रमण देखिएको छ।