नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्न लागेको छ।
आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको जनाइएको छ। आजको बैठकमा रिक्त रहेका सबै पदमा पदपूर्ति गर्ने लगायतका विषयमा छलफल हुने जनाएको छ।
पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहमा रहेको रिक्त पदमा परिपूर्ति गर्ने वा नगर्ने भन्ने विषयमा हिजो पनि छलफल भएको थियो। आजको बैठकले त्यसमा निर्णय गर्ने जनाएको छ।
साउन ३१ गते सम्पन्न केन्द्रीय समिति बैठकले सात दिनभित्र रिक्त पदपूर्ति गर्ने जिम्मेवारी स्थायी समितिलाई दिएको थियो।
यसैगरी बैठकले पुसमा गरिने राष्ट्रिय सम्मेलनबारे निर्वाचन निर्देशिका तल्लो तहसम्म पठाउने गरी छलफल गरी आज निर्णय लिइने बताइएको छ। माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म हुन तय भएको छ।