logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उखुको उठ्न बाँकी रकम तुरुन्त उपलब्ध गराउन सरकारसँग माग


अंकुरण खबर
806
Shares

उखु किसानहरुले चिनी उद्योगी, व्यापारीबाट उठ्न बाँकी रकम तुरुन्त उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

उखु किसान आबद्ध ६ वटा संगठनले आइतबार संयुक्त वक्तव्य जारी गर्दै तत्काल रकम भुक्तानी नभए चिनी उद्योगी, व्यापारी र सरकारविरुद्ध कडा संघर्षमा उत्रिने चेतावनी दिँदै त्यतिबेला कुनै अप्रिय घटना घटे आफूहरू जिम्मेवार नहुने बताएका छन्।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिले नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले संयुक्त विज्ञप्ति निकालेका हुन्।

वर्षौं बित्दा पनि उखुको पैसा नतिर्ने उद्योग, व्यापारीलाई पनि संरक्षण गर्दै आएको आरोप उनीहरुले लगाएका छन्।

‘यसअघि अनेक जालझेल र तिकडम गरेर सत्तामा टिकेको विगतको केपी ओली सरकारले उखु किसानहरूले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउने र किसानहरूले सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने भनेर किसान संगठनहरू र उखु किसानहरूलाई झुटो आश्वासन दियो तर आफ्नो वचन पूरा गरेन।

किसानहरू जिल्ल परे,’ वक्तव्यमा भनिएको छ, ‘परिणामतः आज नेपाली उखु किसानहरूले पुनः उस्तै पीडा भोग्नु परेको छ र पुनः संघर्षमा उत्रिनुपर्ने स्थिति सिर्जना भएको छ।’

वर्तमान सरकारले पनि पूर्ववर्ती ओली सरकारले जस्तै बेइमानी नगरोस् भन्दै उखुकिसानहरूले उद्योगीहरुबाट ब्याज र हर्जनासहित रकम र सरकारबाट अनुदानका लागि जोडदार माग गरेको बताइएको छ।