बैशाख पहिलो साताबाट बन्द रहेका काठमाडौं उपत्यकाका चलचित्र हल, दोहोरी साँझ (घर), डान्स बार लगायतका व्यवसाय पनि भोलि बिहीबारदेखि खुल्ने भएका छन् ।
काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले चलचित्र हल, दोहोरी घर, रेस्टुरेन्ट लगायतका व्यवसाय खोल्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ मा उल्लेख भएका मापदण्डहरू पालना गरेर व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको प्रजिअ पराजुलीले बताए । मापदण्ड पालना भए/नभएको बारेमा अनुगमन हुने उनले बताए ।
उपत्यकाको निषेधाज्ञा भदौ मसान्तसम्मका लागि थपिएको भए पनि भिडभाड हुने गरी सभा, जुलुस, भोजभतेर गर्न नपाइने जस्ता सामान्य व्यवस्थामात्र रहेका छन् ।
दोस्रो चरणको कोरोना महामारी फैलिएसँग बैशाखको पहिलो साताबाट हलहरु बन्द भएका थिए । साढे ४ महिनापछि हलहरु सञ्चालनमा आउन लागेका हुन् ।