बुल्गेरियाबाट बेलायत प्रवेश गरेको एक मालबाहक ट्रक(लरी) भित्र ३९ जनाको शव फेला परेको छ । प्रहरीले बुधबार बिहान ट्रकको कन्टेनरभित्र ३९ जनाको शव फेला पारेको हो ।
इङल्याण्डको एसेक्सबाट ती शव फेला पारिएको समाचारमा बताइएको छ । शवमध्ये एउटा शव किशोरको समेत रहेको प्रहरीले जनाएको छ ।
मृतकहरुको पहिचान हुन सकेको छैन । शवको पहिचान हुन केही समय लाग्ने प्रहरीले जनाएको छ । उक्त ट्रक बुल्गेरियाबाट बेलायत आएको अनुमान गरिएको छ । हाल उक्त ट्रकका ड्राइभरलाई पक्राउ गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल मृतकहरु कहाँबाट बेलायत आएका थिए र कुन मार्ग हुँदै आएका थिए भनेर अनुसन्धान भइरहेको छ ।
मालबाहक ट्रकभित्र ३९ जनाको शव भेट्टिएपछि बेलायत नै स्तब्ध बनेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले उक्त घटनाबाट आफू निकै दु:खी र स्तब्ध भएको बताएका छन् । उनले शोकाकुल परिवारप्रति समवेदना समेत प्रकट गरेका छन् ।
‘मानव बेचबिखन नीच र खतरनाक व्यावसाय हो’, एकजना स्थानीय सांसदले भने । मानव तस्करको जालोमा परेर ती मानिसले ज्यान गुमाएको हुन सक्ने बताइएको छ । एजेन्सी