अविरल वर्षापछि खसेको पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।
पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ बजे सडकमाथिबाट पहिरो खसेको हो । पहिरोले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरोले राजमार्ग अवरुद्ध भएपछि यात्रु र सवारी साधन बाटोमै अलपत्र परेका छन्। सवारी साधनको लामो लाइन लागेको छ ।
अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पठाइएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए। पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनले बताए ।
यसअघि पनि पटकपटक राजमार्ग अवरुद्ध हुँदै आएको छ। वर्षा हुँदा यो क्षेत्रमा पहिरो खस्ने गरेको छ ।