पन्जसिरका लडाकुले अझै पनि आफूहर तालिबानसँग नहारेको दाबी गरिरहेका छन्। तर तालिबान लडाकुले सोमबार पन्जसिर कब्जा गरेको भन्दै एउटा भिडिओ पोस्ट गरेका छन्। जहाँ उनीहरुले पन्जसिरका मुख्य क्षेत्रहरुमा आफ्नो झण्डा गाडिसकेका छन्।

तालिबानले हिजै पन्जसिर कब्जा गरेको दाबी गरिसकेको छ। यसबीचमा झण्डाहरु पन्जसिरमा फहराएको देखिएपछि पन्जसिर तालिबानको कब्जामा गएको पुष्टि भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
यद्यपी मंगलबार पनि एनआरएफ लडाकुले कयौं क्षेत्रमा अझै लडाइँ जारी रहेको बताइरहेका छन्। तर तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एनआरएफ लडाकुहरु भागेको बताएका छन्। हिजै तालिबानले अपदस्थ उपराष्ट्रपति अमरुल्लाह सालेह पन्जसिरबाट ताजकिस्तान भागेको जनाएका थिए।
यसबीचमा एनआरएफका प्रमुख अहमद मसुदले सामजिक संजालमा अडियो म्यासेज सार्वजनिक गरेका छन्। उनले अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई मान्यता दिएको भन्दै असन्तुष्टी पोखेका छन्। उनले राष्ट्रिय विद्रोहको पनि आह्वान गरेका छन्।

उनले भनेका छन्,‘तपाईँ जहाँकहीँ भए पनि, भित्र वा बाहिर, देशको गरिमा, स्वतन्त्रता र समृद्धिका लागि म तपाईँहरूलाई देशव्यापी विद्रोह सुरु गर्न आह्वान गर्छु।’
तालिबानले तीन हप्ताअघि अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको थियो। राजधानी काबुलमा उसले अगस्ट १५ तारिखमा नियन्त्रण कायम गरेको थियो।
भिरालो पर्वतले घेरिएको पन्जशिर उपत्यकामा डेढदेखि दुई लाख मानिसहरू बसोबास गर्छन्। यसअघि सोभियत सङ्घ र तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गर्दा पनि पन्जशिर उनीहरूको नियन्त्रणमा गएको थिएन। सन् १९८० को दशकमा सोभियत सेनाविरुद्ध र सन् १९९६ देखि २००१ सम्म तालिबानको प्रतिरोध भएको थियो।
(भिडिओ)
पन्जशिरका अग्ला चट्टान र दुई पहाडका बीचमा रहेका खोँचहरूले उक्त स्थानलाई बलियो गढ बनाइदिएका छन्।
बीचबाट पन्जशिर नदी बगेको उक्त उपत्यका अफगानिस्तान र उत्तर–पश्चिम पाकिस्तानबीच रहेको हिन्दकुश पर्वत शृङ्खलानजिक छ।
उक्त क्षेत्रमा बहुमूल्य धातुका खानी, जलविद्युत्का बाँधहरू र वायुऊर्जा केन्द्र रहेका छन्। अमेरिकाले त्यहाँ सडक निर्माण तथा काबुलबाट सङ्केत प्राप्त गर्न सक्ने रेडिओ टावर निर्माणमा सहयोग गरेको छ।
तर आर्थिक रूपमा भने यो क्षेत्र अफगानिस्तानको अत्यावश्यक क्षेत्रमा पर्दैन। एनआरएफ लडाकुसँग वार्ता गर्ने प्रयास गर्दा उनीहरुले नमानेका कारण आक्रमण गर्नु परेको तालिबानको भनाइ छ। बीबीसी