अफगानिस्तानको राजधानी काबुलमा भएको पाकिस्तानविरुद्धको र्यालीमा तालिबान लडाकुले गोली चलाएका छन्। सो गोलबारीमा भएको हताहतीको विषयमा हालसम्म कुनै जानकारी आएको छैन।
आज मंगलबार काबुलस्थित पाकिस्तानको दूतावास अगाडि कम्तिमा ७० नागरिकले पाकिस्तानविरुद्ध नारा लगाएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। यो आन्दोलनमा अधिकाँश महिला उपस्थित थिए।
पाकिस्तान र तालिबानबीच सम्बन्ध भएको तथा हालै पन्जसिरमा पाकिस्तानले तालिबानलाई ड्रोन आक्रमण गर्न सघाएको चर्चाहरु चलेका छन्। यसबीचमा पाकिस्तानी अनुसन्धान एजेन्सीका प्रमुख फइज हामिद पनि हालै काबुल पुगेका थिए।
पन्जसिरका लडाकु हार्नुमा पाकिस्तानको हात रहेको चर्चा भइरहँदा आज पाकिस्तानविरुद्ध र्याली निस्किएको हो। एएफपीले पनि तालिबान लडाकुले प्रदर्शनमा उत्रिएको भिडमाथि गोली चलाएको पुष्टि गरेको छ।