विराटनगर – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाका दुई अध्यक्षबीच आलोपालोमा प्रधानमन्त्री हुने सहमति नभएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल‘प्रचण्ड’बीच पछिल्लो समय विवाद बढ्दै गएको खबर बाहीर आउँदै गर्दा उनले सो कुरा बताएका हुन् । कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका पोखरेलले शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
संचारकर्मीसंगको कुराकानीको क्रममा उनले भने–‘नेकपाका अध्यक्षद्वयबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषय बाहिर आएको छ । केपी ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने भनेर कहाँ सहमति भएको छ ?’ प्रधानमन्त्रीमा आलापालो नभए पनि पार्टी नेताको जिम्मेवारी भने आवश्यकता अनुसार हेरफेर हुनसक्ने पोखरेलले बताए ।
‘हाम्रो पार्टीका अध्यक्षद्वयबीच विवाद बढेको भनेर समाचारहरू लेखिएका छन्’, पोखरेलले प्रस्टीकरण दिँदै भने, ‘अध्यक्षद्वयबीच निरन्तर संवाद भइरहेको छ । विवाद छैन ।’सञ्चारकर्मीको जिज्ञासामा उपप्रधानमन्त्री पोखरेलले सांसद् आफ्ताब आलमलाई पूर्वाग्रही बनेर पक्राउ गरेको कांग्रेस आरोप निराधार भएको बताए ।