प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्।
ललितपुरस्थित नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन समारोहमा आज उनले विद्यालयको भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउँदै यसका लागि भविष्यमा थप कार्यक्रम कार्यान्वयन गर्ने बताए। सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण कम भएको भन्ने अवस्थामा पनि यस विद्यालयमा उल्लेख्य विद्यार्थी पठनपाठन गरिरहेको सुन्न पाउँदा आफूलाई खुसी लागेको उनले बताए।
विसं २०७२ वैशाखमा गएको भूकम्पबाट मुलुकका धेरै शैक्षिक संरचनामा क्षति पुगेको अवस्थामा जापान सरकारको सहयोगमा आवश्यक पूर्वाधारसहित विद्यार्थीलाई पठनपाठन गराउने गरी भएको विद्यालयको पुनर्निर्माणप्रति उनले खुसी व्यक्त गरे।
विद्यालयमा दृष्टिविहीन बालबालिकालाई पनि पढाउने व्यवस्था गरिएमा सो कार्यमा सहयोग गर्ने उनले सबैलाई धन्यवाद दिए। जापानको ऋण सहयोगमा रु १२ करोड तीन लाखको लागतमा सो विद्यालय निर्माण गरेको हो।
जाइकामार्फत नेपालका धेरै ठाउँमा शिक्षा, स्वास्थ्य, विपद् नियन्त्रणलगायत क्षेत्रमा निःस्वार्थ सहयोग गरेको भन्दै प्रधानमन्त्री देउवाले सरकारका तर्फबाट जापान सरकारलाई धन्यवाद दिए।
प्राधिकरणअन्तर्गत भूकम्पबाट क्षति पुगेका ३२ जिल्लाका सात हजार ५५३ विद्यालयमध्ये हालसम्म छ हजार ६४४ विद्यालयको पुनर्निर्माण भइसकेको छ। बाँकी पुनर्निर्माणका क्रममा छन्।