logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

सर्वोच्चको फैसलापछि एमालेमा फर्कन नपाउँदा निकै पीडा भयो : अष्टलक्ष्मी शाक्य


अंकुरण खबर
819
Shares

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सर्वोच्च अदालतको फैसलापछि पनि एमालेमा फर्कन नपाउँदा निकै पीडा भएको सुनाएकी छन् ।

काठमाडौं जिल्ला कमिटीले प्रज्ञा भवनमा आयोजित प्रशिक्षण भेलालाई सम्बोधन गर्दै यस्तो अनुभव सुनाएकी हुन्। मञ्चबाट भाषण गर्दै अनुभव सुनाइरहँदा शाक्यले यसलाई पीडा पोखेको रूपमा नलिन समेत आग्रह गरेकी थिइन् ।

उनले भनिन्, ‘सर्वोच्च अदालतले फैसला गरेपछि हामी छुट्टियौं । तर, हामी नेकपा एमालेभित्र यो हामीले दुःख गरेको पार्टी हो भनेर सजिलै त्यहाँभित्र प्रवेश गर्न पाएनौं । लामो समय हामी बाहिर बस्न पर्यो ।’

‘तर, हामी नेकपा एमाले हुन सकेनौं । अनि जिन्दगीमा आफ्नो अनुभव सुनाउने हो भने कमरेडहरू, मलाई पीडा पोख्यो भन्ने नठान्नुहोला । म रातभरि कतिपय बेलामा सुत्न पनि सकिनँ । किन यस्तो भयो होला कम्युनिस्ट आन्दोलन? किन हामी एकजुट हुन सकेनौं होला ? भनेर मलाई निन्द्रा लागेन । मलाई सधैं पीडा भयो।’

उनले कम्युनिस्ट पार्टी स्थापनाका कालदेखिको स्मरण सुनाउँदै भनिन्, ‘कमरेड पुष्पलालले एउटा घर बनाइदिनुभयो । ५ जनाबाट दुःख गरेर कम्युनिस्ट आन्दोलन स्थापित भयो । हामी सबै त्यो घरमा बसेर अटाउँदै, खुसी हुँदै अघि बढ्यौं । क्रमश विशाल रूप लियो । विभिन्न जिल्लामा कमिटी बन्दै गयो । एमाले विस्तारै कम्युनिस्ट पार्टीको रूपमा स्थापित बन्दै गयो ।’

‘मनमोहन अधिकारीको नेतृत्वमा बनेको अल्पमतको सरकारले नेकपा एमालेलाई स्थापित गर्यो । आफ्नो गाउँ, आफैं बनाऔं भन्ने एमालेको कार्यक्रमले हामीलाई अघि बढायो । नेकपा एमाले महासागर बनेको छ, विशाल बनेको छ । संगठनात्मक रूप लिँदै देशभित्र मात्र होइन देशबाहिर पनि विशाल रूप लिएको छ’, उनको भनाइ थियो।