logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झन्डै १४ अङ्कले बढ्यो नेप्से


अंकुरण खबर
949
Shares

लगातार चार दिनसम्म घटेको शेयर बजार परिसूचक नेप्से आज भने बढेको छ ।

नेप्से मंगलबार १३ दशमलव ८३ अङ्कले बढेर दुई हजार सात सय १२ दशमलव शून्य सात विन्दुमा पुगेको हो ।

आज बैंक, होटल, विकास बैंक, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स र अन्य समूहको शेयर बढेको छ । आज कारोबार सुरु भएको २७ मिनेटमा नै नेप्से ८२ अङ्कले घटेर २६ सय १६ विन्दुमा झरेको थियो ।

तर एकै छिनमा अर्थात् ११ बजेर ५७ मिनेटमा ६८ अङ्कले बढेको नेप्से फेरि ३१ अङ्कले ओरालो लाग्यो । त्यसपछि बिस्तारै उकालो लाग्न थालेको नेप्से बन्द हुने बेलामा भने झन्डै १४ अङ्कले बढेको हो ।

आज कारोबार रकम पनि बढेको छ । दुई सय २३ कम्पनीका एक करोड ५३ लाख कित्ता शेयर सात अर्ब ३६ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको २५ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज मनकामना स्मार्ट लघुवित्तको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । एक्सेल विकास बैंक र जानकी फाइनान्सको शेयर भने साढे तीन प्रतिशतले घटेको छ ।