संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा संवैधानिक इजलासको सुनुवाइ रोक्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ ।
सर्वोच्चले बिहीबार न्यायाधीश कुमार चुडालको एकल इजलासमा उक्त रिटको सुनुवाइ तोकेको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायाधीश हरिप्रसाल फुँयालको एकल इजलासले संवैधानिक नियुक्तिबारेको मुद्दामा संवैधानिक इजलासमा भइरहेको सुनुवाइ रोक्ने अन्तरिम आदेशविरुद्ध रिट दर्ता गरेका थिए ।
संवैधानिक नियुक्तिबारेको मुद्दाको सुनुवाइका क्रममा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश आफै संलग्न भएर नियुक्ति सिफारिस गरेकाले इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठेपछि रिट दायर भएको थियो ।
त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइको शुरु र अन्त्यमा आफू बिदामा बस्ने र इजलासमा सहभागि नहुने निर्णय गरेका थिए । तर संविधानमा प्रधानन्यायाधीश विनाको इजलास बस्ने बारेमा कुनै व्यवस्था नभएकाले यो अन्योल कायमै रहेको छ ।