logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकार विस्तारमा सहजीकरण गर्ने माओवादी केन्द्रको निर्णय


अंकुरण खबर
689
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकार विस्तारमा देखिएको कानूनी जटिलता हटाएर तत्काल प्रक्रिया शुरु गर्नुपर्नेमा जोड दिँदै गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले मन्त्रिपरिषद् विस्तारमा देखिएको कानूनी जटिलतालाई अविलम्ब समाधान गरेर अगाडि बढ्न गठबन्धनमा संलग्न दलसँग परामर्श गर्ने निर्णय गरेको हो ।

आजको बैठकमा सरकार विस्तारका लागि कानूनी जटिलता, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दालगायत विषयमा छलफल भएको थियो । माओवादी केन्द्रका स्थायी समिति सदस्य देवप्रसाद गुरुङका अनुसार सरकार विस्तारमा देखिएको जटिलता समाधान गरेर शीघ्र पूर्णता दिन त्यससँग जोडिएका विषयमा छलफल भएको हो ।

स्थायी समितिको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराएको थियो भने स्थायी समिति सदस्यको राय पनि लिएका थिए ।

यस्तै बैठकमा पार्टीको आगामी राष्ट्रिय सम्मेलन र त्यसअघि सम्पन्न गर्नुपर्ने टोल तथा वडा भेलाका बारेमा पनि छलफल भएको थियो । नेता गुरुङका अनुसार पार्टी सदस्यताको नवीकरण असोज मसान्तसम्म गर्ने नयाँ कार्यतालिका तय गरिएको छ ।

यस्तै टोल भेला आगामी कात्तिक ६ गतेसम्म गर्ने, कात्तिक १३ गते वडा सम्मेलन र आगामी मङ्सिर ४ गते स्थानीय पालिका सम्मेलन गर्ने गरी कार्यतालिका तय गरिएको छ ।

पालिका, वडा र टोल सम्मेलनका बारेमा केही दिन समय थप गरिएको भए पनि राष्ट्रिय सम्मेलनको कार्यतालिकाका बारेमा भने कुनै परिवर्तन गरिएको छैन । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरेको छ ।