logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिमण्डललाई पूर्णता दिने सरकारको अन्तिम तयारी


अंकुरण खबर
767
Shares

सरकार गठनको लामो समयपछि सरकारले मन्त्रिमण्डललाई पूर्णता दिने अन्तिम तयारी गरेको छ ।

गठबन्धनमा मन्त्रालयको भागवण्डाका विषयमा कुरा मिल्न नसक्दा रोकिएको मन्त्रिमण्डल विस्तारको काम सोमबारसम्म टुंगो लगाउने गरी नेताहरु छलफलमा जुटेका छन् ।

सत्ता गठबन्धनले आइतवार साँझसम्म मन्त्रालयको भागवण्डा मिलाएर सोमबारसम्म विस्तार गरिसक्ने बताइएको छ ।

सोमबार मन्त्रीहरुलाई सपथ गराउने तयारी भएको नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले बताए । सोमबारसम्म दलहरुबीच सहमति जुट्न नसके मंगलबारसम्म सरकारले पूर्णता पाउने उनको भनाई छ ।

सबै दलहरुलाई मिलाएर अगाडि बढ्दा केही ढिलाइ भएको उनले बताए । यस्तै काँग्रेसभित्र पनि मन्त्रीका आकांक्षी धेरै हुँदा अप्ठ्यारो परेको उनको भनाइ छ ।

नेता खतिवडाका अनुसार गठबन्धनमा रहेका दलहरुभित्रको असन्तुष्टि र राजनीतिक अध्यादेशका कारण पनि केही समय ढिला भयो । पछिल्लो समय नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष अस्वस्थ भएकाले केही समय कुर्नुपर्यो । अब ढिलोमा मंगलबारसम्म सरकारले पूर्णतः पाउने उनले बताए ।

कार्यदलमा सबै विषय टुंग्याउने र केही विषय बाँकी रहेमा साँझसम्म गठबन्धनका शीर्ष नेताहरूको बैठकबाट मन्त्रिपरिषद्मा पोर्टफोलियो र भागबन्डाको विषयमा सहमति जुटाउन आइतवार पनि नेताहरुबीच छलफल भएको थियो ।