अहिले भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदलीको रहेको छ। प्रदेश २ र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ। प्रदेश २ को एक/दुई स्थानमा भारी वर्षा पनि भइरहेको महाशाखाको भनाइ छ ।
सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना छ भने प्रदेश नं २ का एक वा दुई स्थानमा भीषण वर्षाको पनि सम्भावना रहेको छ ।
यस्तै, आज राती देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।