प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।
आज बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। आजको बैठकमै उनले विश्वासको मत लिने तयारी गरेको जनाइएको छ।
जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको छ। दल विभाजन भएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
भदौ २ गतेमा लोसपा गठन भएको थियो। त्यसलाई निर्वाचन आयोगले भदौ ९ गते वैधानिकता दिएको थियो।
आयोगले नयाँ दल रोज्न प्रदेश सभा सदस्यलाई भदौ २२ गतेसम्मको समय दिएको थियो। त्यसको तीन दिनपछि भदौ २५ गतते दल विभाजन भएको जानकारी प्रदेश सभालाई गराइएको थियो।
आयोगले प्रदेश सभा सचिवालयलाई दल विभाजन भएको जानकारी गराएको आधारमा मुख्यमन्त्री राउतले आज विश्वासको मत लिन लागेका हुन्। संविधान अनुसार दल विभाजन भएको ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्छ।
संविधानको धारा १८८ को उपधारा २ मा भनिएको छ, ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभााजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वाको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्नेछ।’
अहिले प्रदेश सभामा १०४ सदस्य छन्। विश्वासको मतका लागि ५३ सांसद चाहिन्छन्।
अहिले प्रदेश सभामा जसपाका ३९, नेपाली कांग्रेसको १९, नेकपा (एकीकृत समाजवादी) का १३ र माओवादी केन्द्रका ८ सांसद छन्। तीनै पार्टीले जसपाका मुख्यमन्त्री राउतलाई समर्थन गरेका छन्।