logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झाडापखालाबाट कपिलवस्तुमा चारको मृत्यु


अंकुरण खबर
793
Shares

विगत केही समयदेखि कपिलवस्तुमा फैलिएको झाडापखालाबाट हालसम्म चारजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५ वर्षीय पुरुषको घरमा, ७ वर्षीय बालकको निजी क्लिनिकमा, ५ वर्षीया बालिका र २ वर्षीय बालकको अस्पतालमा ल्याउँदै गर्दा झाडापखालाकै कारण मृत्यु भएको बताइएको छ ।

यस्तै हालसम्म कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा ७, ८ र ९ वडामा गरी ८ सय ८५ जना संक्रमित भएको र २५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

प्रभावित क्षेत्रमा पिउने पानीमा कोलिफर्म र इ–कोली जीवाणु फेला परेको छ । फेला परेका दुबै जीवाणु मानव मलमूत्रमा पाइने जीवाणु रहेको चिकित्सकको भनाइ छ ।

नेपाल खानेपानी संस्थान बहादुरगञ्ज शाखाबाट वितरण गरिएका धारा र ४० फिटभन्दा माथि गाडिएका नल (चापाकल) को नमुनामा कोलिफर्म भेटिएको हो । सय फिटभित्र गाडिएका नल (ह्याण्डपम्प) मा भने जीवाणु फेला नपरेको बताइएको छ ।