logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोमबार रातिदेखि बाढीमा फसेका चारजनाको सकुशल उद्धार


अंकुरण खबर
754
Shares

दुई दिनदेखि लगातार परेको वर्षाका कारण राप्ती नदीमा आएको बाढीमा फसेका चारजनाको सकुशल उद्धार गरिएको छ।

बाँकेको डुडुवा गाउँपालिका–४ का चारजना स्थानीय सोमबार बेलुका राप्ती नदीको बीच भागमा वनकरेली टिप्न गएका बेला पानीको सतह बढेपछि रातभर जंगलमै बस्नु परेको थियो।

स्थानीय बासिन्दा नदीमा फसेको जानकारी पाएपछि पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मंगलबार बिहान ८ बजेर ४० मिनेटमा सकुशल उद्धार गरेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना ब्यवस्थापन अधिकृत रूपन ज्ञवालीले जानकारी दिए।

‘उनीहरू बाढीमा फसेको हिजो नै जानकारी पाए पनि अँध्यारोका कारण उद्धार गर्न नसकिएकाले बिहानै उद्धार गरिएको हो,’ बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले भने।

राप्ती नदीमा फसेकामा डुडुवा गाउँपालिका-४ निवासी सोखत नाउ, सब्बिर खाँ, प्रमोद लोनिया र नाजिर खाँ हुन्। राप्तीको बाढीमा फसेका अन्य तीनजना भने सोमबार राति नै पौडी खेलेर नदी तर्न सफल भएको केन्द्रले जनाएको छ। बाढीमा फसेका चारैजनाले रूखमा चढेर रात बिताएका थिए।

अविरल वर्षातका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ। कुसुमस्थित बाढी मापन केन्द्रमा मंगलबार बिहान गरिएको मापनअनुसार राप्ती नदीको सतह ३ मिटर ४० सेन्टिमिटर पुगेको थियो।