रोल्पाको माडीमा भएको जीप दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ ।
माडी गाउँपालिका–६ हान्निङबाट घर्तीगाउँका लागि छुटेको रा १ ज ३८२ नम्बरको यात्रुवाहक जीप दुर्घटना हुँदा घाईते भएकी १६ वर्षीया लीला पुनमगरको मृत्यु भएको हो ।
ब्रेक फेल भएर जीप भीरबाट खस्दा माडी–६ हान्निङका ५१ वर्षीय रुद्र पुन, ५३ वर्षीय टेकबहादुर पुन र ४७ वर्षीया चौसरा विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
घटनास्थलबाट उद्धार गरी उपचारको लागि अस्पताल पुर्याइएकी घाइते पुनमगरको पनि मृत्यु भएपछि दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । घाइतेहरूमा २१ वर्षीया वीना घर्तीमगर र ६१ वर्षीया पञ्चना विकको जिल्ला अस्पताल रोल्पामा उपचार भइरहेको उनको भनाइ छ ।
भिरालो सडकमा ब्रेक फेल भएर जीप भिरबाट खसेको र भीरमा खसेको गाडी तत्काल निकाल्न सक्ने अवस्था नरहेको प्रनउ सुबेदीले बताए ।
जीप आइतबार (आज) बिहान ११ बजेतिर रोल्पाको माडी गाउँपालिका– ६ हान्निङबाट घर्ती गाउँतर्फ जाँदै थियो।