मुगुको सदरमुकाम गमगढीको तल्लो बजारमा गएराति भीषण आगलागी भएको छ ।
आगलागीमा १७ घर र तीन घुम्ती पसल जलेर खरानी भएका छन्। आगलागी हुँदा करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गएराति साढे १२ बजे आगलागी सुरु भएको थियो। बिहान साढे ४ बजे मात्रै आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय बासिन्दा र सुरक्षाकर्मी समयमै परिचालन हुँदा मानवीय क्षति हुनबाट जोगिएको छ । स्थानीय ठिन्ले लामाको घरमा जलाएको दीयोबाट आगलागी सुरु भएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।