भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भेटिएपछि भारतसँग सीमा जोडिएका विभिन्न नाकामा सतर्कता अपनाउन थालिएको छ। सोहीअनुसार कञ्चनपुरको गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ।
सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शंकास्पद बिरामीको एन्टिजेन परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ ।
कोरोनाको नयाँ भेरियन्ट फैलिन नदिनका लागि सीमा क्षेत्रमा सावधानी र सतर्कता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए। जोखिम कम गर्न भारतबाट आउने यात्रुको पीसीआर रिपोर्टसँगै कोरोनाविरुद्धको खोप लगाइएको कार्डसमेत हेर्ने गरिएको छ ।
यसैगरी गड्डाचौकीमै शंकास्पद यात्रुको मलेरिया, क्षयरोग र कोरोना परीक्षण गर्ने व्यवस्था पनि गरिएको छ । क्षयरोगको नतिजाबारे बिरामीलाई फोनमार्फत जानकारीसमेत दिइने गरिएको छ ।