भारतमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमणका मामिला एकैदिन एक्कासी पाँच गुनाले बढेको छ।
समाचार एजेन्सी एएनआइका अनुसार आइतवार महाराष्ट्र राज्यमा ७, राजस्थानमा ९ र दिल्लीमा १ जना ओमिक्रोन सङ्क्रमित फेला परेका छन्।
पुष्टि भएका पछिल्ला मामिलासँगै अब भारतमा ओमिक्रोन सङ्क्रमितको कूल सङ्ख्या २१ पुगेको छ।
विश्व स्वास्थ्य सङ्गठनले यो भेरिअन्टलाई चिन्ताको विषय बताएको छ।
सङ्क्रामकतालाई हेर्दा यसले अघिल्लो डेल्टा भेरिअन्टलाई समेत पछि पार्न सक्ने बताइएको छ।
डब्लुएचओकी वैज्ञानिक सौम्या स्वामिनाथनले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै यो डेल्टाभन्दापनि सङ्क्रामक भएको बताएकी छन्।
नयाँ भेरिअन्ट फैलनबाट रोक्ने उद्देश्यले भारतमा केन्द्र एवं राज्य सरकारहरूले विमानस्थलहरूदेखि लिएर अन्य यातायात केन्द्रहरूमा परीक्षण तथा स्क्रीनिङ् तेज पारिरहेका छन्।
महाराष्ट्रको पुनेमा ओमिक्रोनका थप ७ मामिला आइतवार पुष्टि भएको थियो। तिनमा नाइजिरियाबाट भारत फर्किएकी एक महिला र उनकी आफन्तहरू तथा फिनल्यान्डबाट पुने आइपुगेका एक व्यक्ति छन्।
राजस्थानको स्वास्थ्य विभागका अनुसार त्यहाँ दक्षिण अफ्रिकाबाट फर्किएको एक परिवार तथा तिनका सम्पर्कमा आएका व्यक्तिहरूको नमूनाको जीनोम सिक्वेन्सीङ् गर्दा ९ जनामा ओमिक्रोन पुष्टि भएको छ।
भारतको साथसाथै विश्वभरिका कैयन् देशहरूमा पनि ओमिक्रोन सङ्क्रमणमा तेज वृद्धि पाइएको छ।
अमेरिकाको १५ राज्यमा ओमिक्रोन सङ्क्रमण फेला परिसकेका छन्।

ब्रिटेनले पनि ओमिक्रोनको चिन्ताका कारण नाइजिरियालाई उसको ‘यात्रासम्बन्धी रातो सूची’मा राखिदिएको छ।
त्यस्तो सूचीमा भएका मुलुकबाट आउने यात्रुहरूले कोरोनाभाइरस परीक्षण एवं क्वारन्टीनका कडा निषेधहरू पालना गर्नुपर्छ।
दक्षिण अफ्रिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि
कोरोनाभाइरसको अति उत्परिवर्तित नयाँ भेरिअन्टका कारण वैज्ञानिकहरू चिन्तित
दक्षिणी छिमेकी भारतमा लगालग ओमिक्रोन सङ्क्रमित फेला परेपछि त्यसले नेपालमा पनि चिन्ता बढाइदिएको छ।
ओमिक्रोन भित्रिन सक्ने आशङ्काका माझ पूर्ण मात्रा खोप दिइएका मानिसहरूलाई बुस्टरका रूपमा अर्को मात्रा खोप दिने बारेमा छलफल भइरहेको र छिट्टै निर्णयमा पुगिने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले बताएका छन्।
कस्ता व्यक्तिलाई दिने र कहाँबाट शुरू गर्ने भन्नेबारे मन्त्रालयले एउटा संयन्त्र बनाएर तयारी सकेलगत्तै बुस्टर मात्रा दिन शुरू गरिने मन्त्री विरोध खतिवडाले बीबीसीलाई बताए।
हालसम्म नेपालमा पूर्ण मात्रा खोप लगाएकाहरू कूल जनसङ्ख्याको २८ प्रतिशत मात्र छन्।